- August 18, 2022
- Posted by: Bhaktapur Skin Cosmetic Center
- Category: Skin
कसरी बच्ने ? नेपालमा मंकीपक्स रोग फैलन सक्ने सम्भावना कति ?
विश्वका १२ युरोपेली देशमा ९२ जनामा पुष्टि भइसकेको मंकीपक्स रोग चासोको विषय बनेको छ । कोभिडले आक्रन्त पारेको विश्वलाई मंकीपक्स फेरि एक चुनौती बन्ने हो कि भन्ने डर हामी सबैमा रहेको छ।
यो रोग बिफर रोग लाग्ने प्रजातिको भाइरसद्वारा श्वासप्रश्वास, घाउचोट लागेका ठाउँ, थुकको माध्यमबाट आँखा, मुख र नाकबाट सर्न सक्छ । त्यस्तैगरी समलैंगिक यौन सम्पर्कबाट पनि यो सरिरहेको पाइएको छ ।
ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने, थकाइ लाग्ने, शरीरमा गाँठा बढ्ने, ज्वरो आएको १–३ दिन पछि अनुहार र हात खुट्टामा चिलाउने, पोल्ने खालको, बिमिरा, पानी फोका आउनेलगायतका लक्षणहरु हुन सक्छन् ।
धेरैजसो बिरामीमा २ देखि ४ हप्तामा यो रोग कुनै जटिलताबिना नै ठीक हुन्छ । अफ्रिकामा मंकीपक्स देखिएका १० मध्ये १ बिरामीको मृत्यु हुने गरेको देखिएको छ ।
जसरी पीसीआरमार्फत कोभिड पत्ता लगाइन्छ, त्यसरी नै मंकीपक्स छालाका पानी फोका, घाउ, बिमिरा, थुक, सिंगान, विर्य, श्वासप्रश्वास नलीको पीसीआर गरी पत्ता लगाउन सकिन्छ । त्यस्तै छालाको बायोप्सी गरी पनि यो रोग पत्ता लगाउन सकिन्छ ।
कसरी बच्ने ?
- बाँदर, मुसालगायत जनावरबाट यो रोग सर्न सक्ने हुनाले तिनको सम्पर्कबाट टाढा रहने
- मंकीपक्स रोग लागेका बिरामीलाई सुरुमै पहिचान गरि अलग राखी उपचार गर्ने
- सामाजिक दूरी कायम गर्ने, हात धुने, मास्क लगाउने र स्वास्थ्यकर्मीले पीपीईको प्रयोग गर्ने
- सुरक्षित यौनसम्पर्क मात्र गर्ने
नेपालमा मंकीपक्स रोग फैलने सम्भावना कति ?
मंकीपक्स रोग मूलत: पश्चिम र मध्ये अफ्रीकाका देशहरुमा व्याप्त रहेपनि अहिले असाधारण रुपमा विश्वका अन्य देशहरुमा देखिनु चिन्ताको विषय हो। समलैंगिक यौन सम्पर्कबाट निकै तीव्र गतिमा फैलने सम्भावना रहेको यस रोगमा योनीको वरिपरि, अनुहार र हातखुट्टामा चिलाउने, पोल्ने, बिमिरा, पानी फोका आउने हुन्छ । भाइरसको प्रकृति केही समयसम्म निष्क्रिय रूपमा रहनु र आफूलाई परिवर्तन गरी फरक रूपमा प्रस्तुत हुने हुन्छ, यसरी परिवर्तित भाइरसको संक्रामकता र जटिलता बढी गराउँछ ।
वैदेशिक रोजगारका लागि मानिस ओहोरदोहोर गरिराख्ने, चुनावका क्रममा हुलमुल र मानिसको भीड बढी हुने, मठ मन्दिर र जंगलमा बाँदर तथा मुसा व्याप्त रहेकाले यो रोग नफैलिएला भनेर भन्न सकिँदैन । कोभिड जस्तो संक्रामक र जटिलता नहुने भए पनि हामी सबै बच्नु र जानकारी लिनु उचित हुन्छ ।
मंकीपक्सको उपचार कसरी गर्ने ?
भाइरल संक्रमण भएकाले कुनै पनि भाइरल संक्रमणमा जस्तै ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने, थकाइ लाग्ने, शरीरमा गाँठा बढ्ने आदि समस्यालाई त्यही अनुसारको उपचार गर्नुपर्छ ।
ज्वरोको लागि सिटामोल, जिउ दुखाइका लागि इबुप्रोफेंन र ब्याक्टेरियल संक्रमणका लागि एन्टिबायोटिक औषधि चिकित्सकको सल्लाह बमोजिम खाने गर्नुपर्छ ।
त्यस्तै गरी निर्मूल भइसकेको बिफर रोगका निम्ति प्रयोग गरिएको एन्टिभाइरल औषधि ‘टेकोभिरीम्याट’ युरोपमा प्रयोगमा आइसकेपनि उक्त औषधि मंकीपक्सको उपचारमा अनुसन्धान अझै भइरहेको छ।
बिफर र मंकीपक्स एउटै प्रजातिका भाइरस भएकाले, बिफरमा प्रयोग भएकै खोपले करिब ८५ प्रतिशतमा मंकीपक्स रोग लाग्नबाट बचाउँछ र यदि मंकीपक्सको संक्रमण भइहाले पनि निकै हल्का किसिमका लक्ष्यण देखिन्छन् र ती कुनै जटिलता बिना आफैं ठिक हुन्छन् । तर बिफर निर्मूल भइसकेकाले धेरै मानिसले यसको खोप लगाएका छैनन् । त्यस्तै सन् २०१९ देखि मंकीपक्सका निम्ति दुई वटा डोजमा लगाइने खोप पनि प्रयोगमा ल्याइएपनि सरल रूपमा भने यो पाइएको छैन ।
डा. पुडासैनी निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) तथा भक्तपुर स्किन एन्ड कस्मेटिक सेन्टर (बीएससीसी)मा छालारोग विशेषज्ञका रुपमा कार्यरत छन् ।
