- August 18, 2022
- Posted by: Bhaktapur Skin Cosmetic Center
- Category: Skin
काठमाडौँ — जाडोलाई बिट मार्दै वसन्त ऋतुको आगमनसँगै हामी सबैमा नयाँ उमङ्ग छाएको छ। वसन्त ऋतुमै पर्ने होली पर्वसँग हामी सबैको धार्मिक र सांस्कृतिक महत्त्व जोडिएको छ। रंगहरुको पर्व होलीमा प्रयोग गरिने विषाक्त रंगले भने मानिसको शरीरमा अल्पकालीन तथा दिर्घकालिन असर पार्न सक्छ ।
एकछिनको रमाइलोका लागि लापरवाही पूर्वक प्रयोग गरिने रंगले हाम्रो शरीरमा पर्ने प्रभाव बारे सबैले जान्न जरुरी छ । सांस्कृतिक पर्वलाई स्वस्थ रुपमा मनाउन सकियो भने मात्रै त्यो स्मरणयोग्य र उल्लासमय हुन सघाउँछ ।
कसरी चिन्ने मिसावटयुक्त भएका रंग ?
- मिसावट भएका रंगहरु पत्ता लगाउन रंगलाई केही समय पानीमा डुबाएर हेर्न सकिन्छ । यही रंग सजिलै पानीमा घोलियो भने त्यसमा विषाक्त वस्तुहरु जस्तै मर्करी, लिड छैनन् भन्ने बुज्न सकिन्छ।
- रंगमा पेट्रोल, मट्टीतेल आदीको गन्ध आएमा त्यस्ता रंगको प्रयोग गर्नुहुन्न ।
- धेरै चम्किला रंगहरुको प्रयोग गर्नुहुन्न ।
- केमिकलयुक्त रंगहरुभन्दा बासना आउने फूल र बोटबिरुवाहरुबाट बनेका रंगको प्रयोग गर्न सकिन्छ । यस्ता रंगहरु सजिलै पानीमा घुल्ने हुन्छन् ।
रंगका कारण देखिन सक्ने स्वास्थ्य समस्या
छालामा : मिसावटयुक्त मेटल र केमिकल भएका रंगहरुले छालामा एलेर्जी गराउँछ । जसका कारण छाला चिलाउने, पोल्ने, दुख्ने, बिमिरा आउने, पानी बग्ने, घाउ हुने, छाला मा किटाणुको संक्रमण हुने, सेतो दुबी बढाउने, कपाल झर्ने आदी समस्या देखिनसक्छ । मिसावटका लागि प्रयोग गरिने मेटलले दिर्घरुपमा छालाको क्यान्सरसम्म गराउन सक्छ। होलीमा प्रायोग हुने कालो, हरियो, निलो, चाँदी रंगमा विभिन्न प्रकारका हानिकारक तत्त्वहरु (लिड, मरकरी, कप्पर) हुन्छन्। यस्ता हानिकारक तत्त्व भएका रंगहरु छालामा पर्दा छालामा विभिन्न समस्या आउँछन् र रंग पखालिन पनि गाह्रो हुन्छ । यस्तै रंगहरुमा पनि रंगको धूलोभन्दा तरल रंग बढी हानिकारक हुन्छन् । त्यसैले त्यस्ता रंगहरुको प्रयोग गरिनु हुन्न ।
आँखामा : रंगमा हुने केमिकल र मेटलहरुका कारण आँखा रातो हुने, आँखाको कोर्नियामा घाउ नै हुने, र हरियो रंगका कारण अस्थायी अन्धोपन आउने हुनसक्छ। आँखामा कन्ट्याक्ट लेन्स लगाउने व्यक्तीहरुमा रंगहरु जम्मा भएर आँखामा संक्रमण पनि हुनसक्छ। त्यसैले होली खेल्दा कन्ट्याक्ट लेन्स लगाउनु हुँदैन र आखालाई बचाउनका लागि चस्मा लगाइरहनुपर्ने हुन्छ । आँखा चिलाएमा माड्नु हुँदैन र सफा चिसो पानीले पखाल्नुपर्छ ।
यस्तै मिर्गौलाको समस्या भएका, मानसिक अशक्तता भएका, स्मरण शक्ति कम भएका, स्वासप्रस्वासमा समस्या भएका, दम रोग भएका र क्यान्सर रोगीले होलीको रंगबाट टाढा रहनु नै राम्रो हुन्छ । कृत्रिम रंगहरु मिसिएको र केमिकलको प्रयोग गरिएका मिठाई तथा खानेकुरा खानाले पेट दुख्ने, दिशा लाग्ने, वाकवाकी लाग्ने, शरीरमा पानीको मात्रा कम हुने लगायतका समस्या पनि देखिनसक्छ ।
छालामा रंग लामो समय बस्न नदिने उपाय
- सकेसम्म केमिकल भएका कृत्रिम रंगको प्रयोग गर्दै नगर्ने, घरमा सजिलै पाइने गोलभेडा (रातो), सयपत्री फुल वा बेसार (पहेलो ), सलेगम (गाडा रातो), सेतो पिठो लाई रंगको रुपमा प्रयोग गर्ने।
- छाला र कपाललाई बचाउन होली खेल्नु अघि कपालमा तेल, छालामा भ्यास्लिन अथवा कुनैपनि तेलयुक्त मोइस्चेराइजर र नंगमा पलिस लगाउने ।
- आँखामा रंग पर्नै नदिने । त्यसका लागि होली खेल्ने दिन मोटो र बाक्लो खालको चस्मा लगाउने, कनट्याक्ट लेन्स नलगाउने ।
- होलि खेल्नु अघि काटेको वा खुल्लाखालको घाउहरु भएमा त्यस्लाई पानीले नभिज्ने टेप लगाएर बन्द गर्ने अथवा ड्रेसिंग गरेर बन्द गर्ने । येदी खुल्ला घाउमा विसाक्त रंगहरु परेमा तिनले शरीरमा संक्रमण फैलाउने, स्वासप्रस्वासमा समस्या ल्याउने, एलेर्जी हुने सम्भावना हुन्छ ।
- पर्याप्त मात्रामा सनस्क्रिन लगाउने ।
- लामो समय एकनाशले रंग नखेल्ने र समय समयमा मुख पखाल्ने ।
होलीपछि छालामा लागेका रंगहरु कसरी सफा गर्ने ?
- प्राय गरेर होलीमा प्रयोग गरिने धेरै रंगहरु केहीपछि आफैं कम हुँदै जान्छन् ।
- छालामा लागेको रंग हटाउन हल्कासँग धेरै नमाडिकन ५ देखि १० मिनेट साबुन र मनतातो पानी प्रयोग गर्ने । हतार गरेर धेरै जोडबल नगर्ने ।
- पानीले सफा गर्दा कागतीको झोल, दही, बेसार, सेतो पिठो मिसाएर सफा गर्ने ।
- आँखा सफा पानीले छ्याप-छ्याप गरेर धुने, आँखा नमाड्ने ।
तर मिसावटयुक्त चाँदी जस्तो रंगमा हुने सिल्बर नाइट्रेटले छालामा दीर्घरुपमा निलो-खैरो रंग प्रदान गर्नसक्छ। यस्ता दीर्घरुपमा छालाको रंग परिवर्तन गर्न वसन्त ऋतुको चर्को घामले धेरै मद्दत गरेको हुन्छ। यसरी दीर्घरूपमा छालाको रंग परिवर्तन भएमा केहीको उपचारपछि पनि छालाको पूर्व अवस्थामा आउन सक्दैन ।
